गोत्रीय विज्ञानको बैज्ञानिक औचित्व र महत्व

गोत्रीय विज्ञानको बैज्ञानिक औचित्य र महत्व

आनन्द भण्डारी, दमक २ -झापा, हाल काठमाडौँ मोबाइल: ९८५११६२१९१ इमेल: anandabhandari@yahoo.com

गोत्रीय प्रणाली र यसको बैज्ञानिक आधार बारे निकै चर्चा परिचर्चा भए पनि धेरै जसो चर्चाहरु किवदन्ती तथा कथा कहानीमा आधरित भई भ्रामक रुपबाट प्रचार हुनाले, गोत्रीय बिज्ञान को सहि बिज्ञान र महत्व जनमानसमा नपुग्नाले हाम्रा कुलसंस्कार धर्महरु हराउदै जादैछन | तेसैले गोत्रीय विज्ञानको बैज्ञानिक औचित्य र यसको महत्व बारे धर्मशास्त्र र बिज्ञानशास्त्र मा उल्लेख भएका ज्ञान र सिद्दान्तहरुको बैज्ञानिक विश्लेषण गर्नु जरुरि हुन्छ | आफ्नो गुण सहितको पुर्बजको पहिचान कर्तब्य, संस्कारको सहितको कुल बंशको पहिचान र गोत्र सहितको आफ्नो ऋषिको पहिचान गरी कुलसंस्कार धर्मको संरक्षण र सम्बर्धन गर्नु पर्ने आजको आवस्यकता हो |

बैदिक कालमा स्थापना भएको गोत्रीय शास्त्र आजको आधुनिक बिज्ञान संग पनि उतिकै तार्किक, सान्दर्भिक, समय सापेक्ष र बैज्ञानिक छ भन्ने कुरा हाम्रा गोत्र-प्रदायक ऋषिहरुले प्रतिपादन गरेको सिदान्त र प्रणाली को कार्यान्बयन ले समाजमा पारेको सहि परिणाम बाट प्रष्ट हुन्छ | भारतीय धर्मशास्त्री श्री देवी प्रसाद चटोपाध्यको भनाइ अनुसार मनुष्य सहित सबै चर्-जगत प्राणी हरु संग आ-आफ्नो गोत्र हुन्छ र आ-आफ्नो बंश वा कुल हुन्छ | सदियौं काल देखि आफ्नो कुल परम्परा को निरन्तरताका लागि हाम्रा पुर्बजहरुले आ-आफ्नो बुझाइ अनुसारको आफ्नो बिधि अनुसार कुल मान्ने चलन चली रहेको छ | तथापि हिन्दु शास्त्र बाट प्रतिपादित गोत्रीय प्रणाली लाइ बिज्ञानका सिद्दान्त संग जोडी हाम्रा सन्ततिहरुलाई बिश्वासयोग्य बातवरण बनाई युवा पिढीलाई सहि बाटो निर्देशित गर्ने कार्यमा भने हामि पछाडी परिरहेकोले हाम्रा पुस्ताहरुले यो पद्दति लाइ बिर्सदै र छोड्दै आइरहेको अवस्था छ | त्यसैले मैले बैदिक गोत्रीय बिज्ञानलाइ बिज्ञान संग जोडी बैज्ञानिक बिबेचना गर्ने जमर्को गरेको छु |

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनको (मोर्गन सन् १९६४) भनाइ अनुसार मातृसतात्मक कालमा महिला (आमा) तर्फ बाट सन्तानको पहिचान गरिने र पुर्खाहरुको ब्यख्या गरिने प्रचलन थियो | तत्कालिन मानव समाजको सुरुमा गोत्र भन्नाले एउटै पुर्ख्यौली रक्तखलकका मानिसको झुण्ड भन्ने बुझियो | समाजशास्त्री मोर्गेन को पुस्तक मा भनिएको छ कि मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको प्रवेश संगै पुर्खाहरुको जाति उपजाति को बिकाश संगै रक्त शुद्धता को प्रश्न उठन थाल्यो | यसबाट मानव समाजको बिकाशमा ठुलो समस्या आइपर्यो र पिता को गुण-सुत्रको आधारमा गोत्र को सुरुवात भएको देखिन्छ | उक्त कालमा गरिएको परिभाषा अनुसार ब्रम्हले सृष्टिलाइ निरन्तरता दिनका लागि ऋषिहरुलाइ जन्म दिई उक्त ऋषिहरूको नाम बाट गोत्रवाली सुरु गरिएको देखिन्छ | यसलाई पुष्टि गर्न पछिल्लो कालमा मानवशास्त्री मुलरले आफ्नो खोजमा पुस्तिकामा लेखेका छन् – हिन्दु शास्त्र अनुसार "गोत्रहरू बैदिक कालका सातवटा ऋषिहरूका नामबाट राखिएको हो र ति ऋषिहरू हिन्दू धर्मशास्त्रका मुख्य सप्तऋषि, ब्रम्ह-ऋषिका वा गोत्र प्रबतक रुपमा चिनिन्छन" | ती सप्तर्षिहरू १) गौतम, २) भारद्वाज, ३) विश्वामित्र, ४) जमदग्नि, ५) वशिष्ठ, ६) कस्यप, ७) अत्रि, । यि सप्तऋषि सँगै अगस्त्य मुनिले पनि सप्तऋषिको सिको गरी आफ्नो नामबाट अगस्त्य गोत्रको सुरूवात गरेको इतिहासमा पाइन्छ | हामि अहिले तिनै ब्रम्ह-ऋषि का सन्तान को रुपमा यस धर्तीमा छौ र हाम्रा मूल गोत्रीय ऋषि सात नै हुन् |

चाड्कय शास्त्र अनुसार नीति बिनाको राजनीति र स्वच्छ कर्म बिनाको सम्पति को औचित्य हुदैन भने जस्तै ज्ञान बिनाको बिज्ञान र धर्म बिनाको कर्म पनि उदेश्य बिपरित हुने पक्का छ | त्यसैले गोत्रीय प्रणाली र परम्पराको ज्ञान, यसको बैज्ञानिक सम्बन्ध र सिदान्त बुझेर गरिएका संस्कारले मात्र दीर्घकालीन मा आइपर्ने समस्याको समाधान हुन्छ | जस्कालागी हामि अहिले देखि सचेत हुन जरुरि छ | आजको भौतिक विज्ञानले अनुबंशिक गुणका (क्रोमोजम र डी.एन. ए.) अन्वेषण गर्नुभन्दा पहिले नै हाम्रा गोत्र –प्रबतक ऋषिहरुले यस बारेको ज्ञानलाइ गोत्रको परम्पराबाट व्यवस्थापन गरी हाम्रो शरीरमा भएको गुण-शुत्र (क्रोमोजम) संरक्षण तथा व्यवस्थापन गरी भाबि सन्तानमा आउन सक्ने अनुबंशिक बिकारहरुलाई व्यवस्थित गरेको कुरा आजको बिज्ञानले पुष्टि गरिरहेको छ | त्यसैले गोत्रीय प्रणाली आजको भौतिक बिज्ञान भन्दा अगाडी र बैज्ञानिक तथ्यमा आधारित छ |

गोत्रीय प्रणाली मुख्यत दुइ सन्दर्भका कारणबाट महत्वपुर्ण छ |

१. बैज्ञानिक सन्दर्भ: अनुबंशिक अभिलेखीकरण गरी बंशको पहिचान सहित संरक्षण गरी अनुबंशिक विकार बाट सन्तान दरसन्तान को जगेर्ना गर्नु | गोत्रीय प्रणालीको महत्वपूर्ण उदेश्य नै अनुबंशिक गुणहरुलाई बिचलन हुन् नदिई भाबि सन्तानहरुलाई अनुबंशिक बिकारहरु जस्तै; मानसिकरोग, अपांगता, विचारहीन जीवन, विनासकारी सोच र जीवन भित्रको सुन्यता बाट सुरक्षित गरी सृष्टि लाइ सम्मानित बनाइ लोकको कल्याण हेतु गोत्र प्रणालीको शुरुवात गरिएको थियो | मानव जन्म प्रकृयालाइ वैज्ञानिक आधारमा हेर्दा पुरुष (XY) र महिला (XX) क्रोमोजोमको समागमबाट हुन्छ । बैज्ञानिक सोचबाट हेर्दा गोत्र प्रणालीको विकासको मुल कारण Y क्रोमोजोमको (पुरुष) पहिचान गर्दै युगौं युगसम्म आफ्ना भाइवन्धुहरूको वा कुलको पहिचान कायम राख्नु थियो । बिज्ञान अनुसार छोरी जन्मनुको निमित्त पुरुषको X क्रोमोजोम र महिलाको X क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पुरुषको Y क्रोमोजोम र महिलाको X क्रोमोजोम मिल्न आवस्यक हुन्छ । विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल X क्रोमोजोम मात्र हुन्छ Y क्रोमोजोम हुँदैन Y क्रोमोजोम पुरुषमा मात्र हुन्छ । पुरुषको जन्मको कारण Y क्रोमोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन Y क्रोमोजोम आफ्नो पुर्खाकोमात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ | हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस बैज्ञानिक कारणलाई सही ढङ्गले बुझेका रहेछन् भन्ने कुरालाई वर्तमानको आधुनिक विज्ञानले प्रमाणित गरिदिएको छ | बैज्ञानिक मतअनुसार Y क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै रुपमा रहि रहने हुँदा त्यसको सहि उर्वरा शक्ति हाँसिल गर्न फरक वंशको X क्रोमोजोम आवस्यक हुन्छ त्यसैले पनि गोत्रीय प्रणाली र सिद्दान्त अनुसार सगोत्री बीच बिबाह गर्नु हुदैन भनेर उल्लेख गरिएको छ जुन सिदान्त मुलत बिज्ञानमा आधरित छ | सगोत्रमा विवाह हुँदा जन्मने सन्तान चाण्डाल मनिन्छ भंनेर गरुडमहापुराणमा पनि भनिएको छ |

२. धार्मिक तथा सामाजिक सन्दर्भ: बंशीय धर्म र संस्कारलाइ परिपालन गर्दै आफ्नो ऋषिकुल माध्यमबाट देवताहरु संगको सामिप्यता कायम गरी शक्ति तथा बिश्वास प्राप्त गरी कुल- सन्ततिको जगेर्ना गर्नु हो | श्री श्री रबि शंकर गुरु भन्नुहुन्छ गोत्रीय प्रणाली ले मुलत आफ्नो प्राचीनतम व्यक्ति संग सम्बन्ध जोडी आफ्नो बंश/कुल संगको निकटता, पहिचान र प्रेरणा सहित आपसी सम्बन्ध प्रगाढ बनाइ कुल धर्मको जगेर्ना र बंशको उद्दार र प्रगति-उन्नति गर्न मद्दत गर्छ | हामीले कुनै शुभ कार्य तथा पितृ कार्य गर्दा सुरुमा नै संकल्प मन्त्र सहित सकल्प गर्ने गरिन्छ, जसमा कर्ता लाइ आफ्नो कार्य स्थल बाट तिथि र समय लाइ मध्ये नजर गर्दै आफ्नो राशि नक्षत्र लाइ सामिप्यमा राखी आफ्नो गोत्र सहित पितृसंग जोड्दै कुल ऋषि मार्फत देवता सम्म प्राथना पुरयाउने र देवता बाट पाउने आशिर्बाद तेही बाटो गरी कर्ता सम्म आइपुग्ने कुरा उक्त संकल्प मन्त्र मा उल्लेख छ | हामि देवताको शरण मा पुग्नु छ भने आफ्नो गोत्रीय ऋषि मार्फत मात्र पुग्न सक्छौ भन्ने कुरा हाम्रा मनु सृतिमा उल्लेख भएको पाइन्छ | यसैले कुल पुजा को धार्मिक महत्व भनेको शक्ति प्राप्तिका लागि इष्ट देवता हुदै कुल देवता मार्फत सृष्टि कर्ता ब्रम्ह देवता सम्म पुरयाई आफ्नो कुल बंश र पित्रु हरुको को उद्दार सहित सन्ततिको सुन्दर भबिष्य निश्चित पार्नु रहेको छ |

कुनै पनि गोत्रको उद्गमस्थल तथा प्राचीनतम पुर्खाहरुको बंशावाली पूर्णरुपमा पत्ता लाउँन अति कठिन छ साथै बैज्ञानिक आधार खोज्न पनि अति कठिन छ | तर पनि गोत्र को महिमा र महत्व बुझ्ने हो भने गोत्रवाली, बंशावली, कुलधर्म मानिसका जीवनमा र सन्तानको प्रगति उन्नतिका लागि अति महत्वपूर्ण जीवन सुत्रधार प्रणाली हो |

मानव समाजमा गोत्रहरु सात ब्रम्हऋषिहरु बाट सुरुआत भए पनि समाज विकासमा क्रममा आजको समाज सोहि अवस्थामा छैनन र सोहि स्थितिमा पनि छैनन । यस सन्दर्भमा हेर्दा नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था, अवशेष र रूप कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ, यसर्थ आज गोत्र र थरहरूको अध्ययनबाट आफ्ना पूर्वजको लहरो पहिल्याउने एउटा माध्यम अनि बाबुबाट बंशीय गुण र हाम्रा पूर्वजको इतिहास लाइ अभिलेखीकरण गरी बंशीय लहरो फेला पर्ने माध्यम हो भन्न सकिन्छ | तर कसरि ?? यो प्रश्न गम्भीर छ अनि कठिन पनि तर पनि समाधान गर्नु पनि छ |

हाम्रो गोत्रीय प्रणाली सात ब्रम्हऋषिहरु बाट शुरु भएको कुरा प्रष्ट छ, त्यसैले मूल गोत्र भनेको नै तिनै सात ब्रम्हऋषिहरु हुन् तर हाल बिकाशका क्रममा धेरै गोत्र हरु प्रचलनमा आएका छन् यसरी गोत्र बढ्नुका कारणहरूलाई विद्वानहरूले यसरी व्याख्या गरेका छन्; सप्तऋषिका सन्ततीहरूले आफ्नै नामले नयाँ गोत्र राख्ने चलन जस्तै विश्वामित्रका सन्तति कौडिण्यले आफ्नै नामबाट कौडिण्य गोत्र राखे, त्यस्तै जमदग्निका सन्तती भाष्टाले आफ्नै नामबाट भाष्टा गोत्र राखे विश्वामित्रका कुलमा जन्मेका कौशिक ऋषिले आफ्नो विश्वामित्र गोत्र छोडी आफ्नै नामबाट कौशिक गोत्र राखे र पछिका सन्तानहरूलाई आफ्नो नाम कौशिकलाई गोत्र भन्न लगाए । त्यसै गरी ब्राह्मणबीच आन्तरिक विहेबारीका कारणले पनि नयाँ गोत्रको सुरुवात भयो । आफ्नो कुनै आदर्श गुरू वा महात्माको नामबाट मान्छेहरूले आफ्नो नयाँ गोत्र निर्माण गरेकाले पनि गोत्रको सङ्ख्या बढ्यो । गोत्र थाह नभएका केही समूहलाई ऋषिहरूले पुरानो गोत्रसँग अलिकति फरकपारी उस्तै अर्को नयाँ गोत्र दिएर गोत्रिय बनाउने गरेकाले गोत्रको सङ्ख्या बढ्यो । यसरी मुख्य चार कारणले गर्दा मुख्य सात गोत्रबाट बढेर ४९ पुगेको हो भनि पूर्विय तथा पाश्चत्य मानव शास्त्रीहरूले निर्क्यौल गरेका छन् | त्यसैले यदी कोहि मूल गोत्र मान्न चाहन्छ भने र मूल ऋषि को पक्ष्यमा छ भने तिनै सप्त ऋषि हरु मध्येका एक ऋषि आफ्नो मूल ऋषिका रुपमा मान्दा कुनै गल्ति हुदैन |

(ॐ कुलदेवतायै नम: ॐ कुलदैव्यै नम: ॐ पितृ देवतायै नम: )